१३ वैशाख, काठमाडौं ।
कोरोनाभाइरस (कोभिड–१९) रोकथामका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन ।
गत चैत ११ गते यता देशभर लकडाउन लागू गरिएको छ । लकडाउनका कारण सहरी क्षेत्रको दैनिक जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ । तर पनि काठमाडौं उपत्यका लगायतका ठूला सहरहरुमा मानिसहरुले लकडाउनको पालना गरेका छन् । सहरका मुख्य सडकहरु सुनसान छन् ।
शनिबार पनि अत्यावस्यक सेवाका सवारी साधन चलेका छन् । कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर लगायतका सबै क्षेत्र बन्द छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, लगायतअत्यावस्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् ।
लकडाउनको पूर्ण पालना गराउन सुरक्षाकर्मीले गर्ने जाँचलाई कडाई गरेको छ । चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदलयात्रीको चेकजाँच गरिरहेका छन् । सहरका भित्रि सडक पनि सुनसान छन् । पसलहरु बन्द रहेका छन् । तर केही अत्यावस्यक खाद्य सामग्री विक्रीगर्ने पसल र औषधि पसलहरु सञ्चालनमा आएका छन् ।
मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर सामग्री खरिद गर्ने गरेका छन् । सरकारले वैशाख १५ गते सम्म लकडाउनको समय तोकेको छ । १५ गते पछि लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ ।
कोरोनाभाइरसको संक्रमण कम भएका क्षेत्रमा लकडाउनलाई खुकुलो पार्ने विषयमा छलफल भइरहेको बुझिएको छ । नेपालमा अहिलेसम्म कोरोनाभाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ४९ पुगेको छ । यस्तै १० जनालाई निको भइसकेको छ ।
अहिले सम्म ९ हजार ४ सय ८ जनाको पीसीआर प्रविधिमार्फत कोरोनाभाइरस परीक्षण गरिएको छ । देशभर १२ हजार ९ सय ८५ जना क्वारेन्टाइनमा छन भने आइसोलेसनमा ८९ जना रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले जनाएको छ ।