१३ बैशाख, बिराटनगर।
नोबल अस्पतालले लकडाउनको समयमा पनि बिरामीको उद्धारमा सक्रियता देखाएको छ । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बिपन्न बिरामीको घर–घरमा पुगेर उनीहरुलाई अस्पताल लगि निःशुल्क उपचारको व्यवस्था मिलाउदै आएका छन् ।
डा.शर्माले गएको निर्वाचनमा पराजय भोगेको मोरङको क्षेत्र नं.३ का गाउँ–गाउँमा पुगी गरिब, बिपन्न र उपचार गर्न नसकेर समस्यामा रहेका बिरामीहरुलाई अस्पताल ल्याई निःशुल्क उपचार गराईरहेका छन् । उनले शनिबार बेलबारी–२ लालभित्तिकी ७२ बर्षीया मृगौलापीडित सोममाया तामाङलाई घरमै पुगेर उद्धार गरी अस्पताल पुर्याएका छन् । एम्बुलेन्ससहित बिरामी तामाङको घरमै पुगेका डा.शर्माले उनलाई घरबाट उठाएर उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याएका हुन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको तर्फबाट उम्मेद्वार बनेका डा.शर्माले सो क्षेत्रका गरिब, बिपन्न बिरामीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि मिलाइदिएका छन् । डा.शर्माले सो क्षेत्रका कोरोना प्रभावित गरिब, बिपन्न तथा मजदुरलाई राहत वितरणका लागि ३७ लाख ३६ हजार रकम प्रदान गरिसकेका छन् ।