१३ वैशाख, वीरगञ्ज ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत पाँचजना मध्ये चार जना कोरोना संक्रमितको पीसीआर परीक्षणको रिपोर्ट तेश्रो पटक पनि नेगेटिभ आएको छ ।
छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रपोर्ट नेगेटिभ आएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेश्रो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । चारै जनाको चौथो रिर्पाेट पनि नेगेटिभ आएपछि उनीहरुलाई आइतबार डिश्चार्ज गरिने उनले बताए ।
पीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमूना संकलन गरी शुक्रबार हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । शनिबार साँझ रिपोर्ट नेगेटिभ आएको जानकारी प्रयोगशालाले अस्पताललाई दिएको छ ।
नारायणी अस्पतालमा सर्लाहीका एक संक्रमित पनि उपचाररत छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा रहेको जामे मस्जिदमा बसिरहेका ३ जना भारतीय नागरिकमा गत चैत २९ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखी उपचार भईरहेको थियो भने एक÷ एक जना रौतहट सर्लाही जिल्लाका कोरोना संक्रमितको उपचार भईरहेको थियो ।
भारत सरकारले लक डाउनलाई कडा पारेकाले भारतीयलाई घर फर्काउन नसकिने भएकाले जुन मस्जिदबाट उनीहरुलाई ल्याईएको हो त्यही लगेर भारतीय नागरिकलाई छाडिने र रौतहटका एक जनालाई भने परिवारको जिम्मा लगाईने उपचारमा संलग्न चिकित्सकले बताए ।