१४ बैशाख, विराटनगर ।
विश्वब्यापी महामारी बनेको कोरोना भाईरस (कोभिड १९)को संक्रमण रोक्न र भेटिएका संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न सक्रिय रहेको प्रदेश १ सरकारले धरानस्थित वीपी विपी प्रतिष्ठानमा सय बेडको कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको छ । ५ सय बेडसम्म क्षमता विस्तार गर्न सकिने गरी सुरुवातमा प्रदेश सरकारले धरानमा सय बेडको अस्पताल सञ्चालनमा ल्याएको हो । यो सँगै प्रदेश १ मा धरान र विराटनगर गरी २ सय बेडको कोभिड १९ अस्पताल संचालनमा आएको छ ।
प्रदेश १ सरकारले कोरोना भाईरस (कोभिड १९) का संक्रमितका लागि सुनसरीको धरानमा एक सय वेडको अस्पताल सञ्चालनमा ल्याएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ अस्पतालको आइतबार मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सांसदहरु सावित्री जोशी, उमिता वराईली, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई लगायतले निरीक्षण गरेका छन् ।
अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले कोरोनाको केन्द्रबिन्दु एक नम्बर प्रदेश भएकोले कोरोना भाइरसको उपचार र रोकथामका लागि प्रदेश सरकार गम्भीर भएर लागि रहेको बताए । मुख्यमन्त्री राईले कोभिड १९ लाई पराजित गर्न लकडाउनमा पालना गर्नुपर्ने अनुशासनहरू पालना गरेर, सङ्क्रमितहरूलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गर्ने बताए । कोरोना भाईरस नियन्त्रणका लागि प्रदेश सरकारको तयारी राम्रो भएकोले आत्तिनु नपर्ने उनले बताए ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक हप्तामा १ सय बेडका अस्पताल तयार भएको बताए । उनले आवस्यक परेको अवस्थामा विपीमा थप ५ सय वेड तयारी गरिने बताए । उनले कोरोना उपचारका लागि अन्य स्थानमा पनि संभाव्यता अध्ययन भईरहेको बताए ।
अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ । प्रदेश सरकारले यसअघि विराटनगरमा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र सञ्चालन गरेको थियो । कोभिड अस्पतालमा अहिले ३० जना संक्रमितको उपचार भईरहेको छ । कोभिड १९ कोरोना उपचार केन्द्रमा अहिले ५० वेड थप गरिएको छ । सो उपचार केन्द्र अहिले एकसय वेडको भएको छ ।