२० वैशाख, काठमाडौं ।
लक डाउनका कारण समस्यामा परेका नागरिकहरुलाई समाज उत्थान महिला मञ्चले राहत वितरण गरेको छ ।
लक डाउनका कारण समस्यामा परेका असंगठित क्षेत्रका मजदुर, अपाङ्गताभएका व्यक्ति र सुत्केरी महिलाहरुलाई राहत वितरण गरिएको हो । पहिलो चरणमा ३ सय जनालाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष निर्मला श्रेष्ठले बताइन ।
प्रतिव्यक्ति १०किलो चालम, २ लिटर तेल, १ किलो नुन र २ वटा हातधुने साबुन हस्तान्तरण गरिएको उनले बताइन । राहतका लागि ४ सयजनाले नाम लेखाएका थिए ।
काठमाडौं महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष खेमराज तिवारीले वडासँगको सहकार्यमा महिला मञ्चले राहत वितरण गरेको बताए ।
लक डाउनको प्रकृया लामो भएमा पुनः राहतका प्याकेज घोषणा गरी वितरण गर्ने उनले बताए । नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले संगठित क्षेत्रका मजदुरहरुलाई सम्बन्धित संघसंस्थाहरुले राहत विरतण गरेपनि असंगठित क्षेत्रका मजदुर समस्यामा परेको बताए ।
महिला मञ्चले नयाँ बसपार्क क्षेत्रमा राहत वितरण गरेको हो । कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले लक डाउन घोषणा गरेपछि दैनिक ज्यालादारी गर्ने मजदुर र अन्य असंगठित क्षेत्रमा कामगर्ने व्यक्तिहरु प्रभावित बनेका छन् ।