२२ वैशाख, काठमाण्डौं ।
देशका धेरै ठाउँमा मौसम बदली भएसंगै आज पनि धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भइ देशका विभिन्न ठाउँमा पानी पर्न लागेको मौसमविद् गङ्गा नगरकोटीले बताए । नगरकोटीले यो हप्ताभरिकै मौसम यस्तै रहने सम्भावना रहेको जानकारी दिए ।
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले मौसम बदली भइ लगातार जसो पानी परिरहेको उनको भनाइ छ । आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ ।