२७ वैशाख, काठमाडौं ।
नेपालमा कोभिड–१९ संक्रमितको संख्या १०९ पुगेको छ ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका तीन जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
भुल्केका १८, ४५ र ६० वर्षीया महिलामा संक्रमण फेला परेको हो । भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्य विराटनगरस्थित कोशी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले बताइन् । अन्यको स्वाब परीक्षण जारी रहेको उनले बताइन् ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जना १७ वर्षीय र दुई जना १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
कपिलवस्तुका तीनै जना संक्रमित मायादेवी गाउँपालिका–१, पकडीस्थित छत्रपाली तिर्थादेवी मावि क्वारेन्टाइनमा बसेका थिए । ३ जनामध्ये मायादेवी गाउँपालिका वडा नम्बर २, अभिरावका एक जना छन् । त्यस्तै शुद्धोदन गाउँपालिका–६ का एक जना र अर्का मायादेवी गाउँपालिका ८, बिजुवाका हुन् ।
अभिरावका युवा २३ गते राति क्वारेन्टाइन पुगेका थिए । बिजुवा र शुद्धोदनका युवा २० गते मुम्बईबाट फर्केका हुन् । योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ५ पुगेको छ ।
संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या ३० जना पुगेको छ ।
तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ ।