२७ वैशाख, काठमाण्डौ ।
शुक्रबारसम्म मलेसियामा २० जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ ।
मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव प्रतिक कार्कीका अनुसार शुक्रबारसम्ममा मलेसियामा २० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो ।
उनकाअनुसार सङ्क्रमितमध्ये तीन जना निको भएका छन् । अरुको स्वास्थ्य अवस्था सामान्य रहेको र मलेसियन सरकारले नै सङ्क्रमितको उपचार गरिरहेको पनि कार्कीले बताए ।
पछिल्लो समय सुरक्षा गार्डमा पनि सङ्क्रमण भएको भन्ने कुरा आएको छ, तर दूतावासमा आधिकारिक जानकारी आएको छैन’ उनले भने, अहिले दूतावासमा जानकारी आएअनुसार २० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।’
बिहीबार साँझ मलेसियन सञ्चारमाध्यम द स्टारले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको एक मलमा ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना सङ्क्रमण देखिएको जनाएको थियो ।
घर फर्कन २६ सयको आवेदन
दूतावासले अनलाइनमार्फत सङ्कलन गरेको तथ्याँकअनुसार शुक्रबारसम्म २६ सय जनाले घर फर्कन पाउँ भन्दै आवेदन दिएका छन् ।
द्वितीय सचिव कार्कीका अनुसार दूतावासले अनलाइनमार्फत आफ्नो विवरण भर्न भनेकोमा शुक्रबारसम्ममा २६ सय जनाले फारम भरेका हुन । कोरोनाका कारण कुनै समस्या भएमा अनलाइनमार्फत विवरण भरी आफ्नोबारेमा जानकारी दिन उनले अनुरोध गरेका छन् । घर फर्कन नचाहनेले पनि आफ्नो समस्या टिपाउन सक्नेछन् ।
सबै जनाले आफूलाई परेको समस्या दूतावासमा राखेमा कसलाई के समस्या परेको छ भन्ने जानकारी दूतावासलाई हुने र पछि समन्वय गर्न सजिलो हुने कार्कीको भनाई छ ।