२७ वैशाख, सिमकोट ।
हिमाली जिल्ला डोल्पाको छार्का ताङ्सोङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका डोल्पाली रिपोर्ट नेगेटिभ आएपछि हर्सोल्लासका साथ घर फर्किएका छन् ।
गाउँपालिकाकै विद्यालयमा स्थाना गरिएको क्वारेन्टाइनमा १४ दिन बिताएर उनीहरुको कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका हुन् । छार्का ताङ्सोङ गाउँपालिकाले काठमाडौं र पोखराबाट उद्धार गरिएका ५९ जना नागरिकलाई पालिकाकै तेजिङ नोर्के प्राथमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको उक्त गाउँपालिकाका लेखा प्रमुख रामकृष्ण बुढथापाले बताए ।
क्वारेन्टाइनमा बसेको चौधौँ दिनमा स्वास्थ्य सेवा कार्यालयबाट आएको टोलीले आरडिटी किटबाट परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि गाउँपालिकाले हर्सोउल्लासका साथ बिदाई गरेको थियो ।
बाहिरबाट उद्धार गर्दाको खर्च, क्वारेन्टाइनको व्यवस्था र घर फिर्ता हुँदा बाटो खर्च समेत गाउँपालिकाले दिएर पठाएको बुढथापाले बताए । सदरमुकामबाट सात दिन पैदल लाग्ने गाउँपालिकामा बाहिरका मानिसहरु बिरलै जाने गर्छन् ।