३ जेष्ठ, विराटनगर ।
भारतमा कोरोनाको संक्रमण तीब्र गतिमा बढिरहेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतले चीन र पेरुलाई संक्रमितको संख्यामा उछिनेको छ। आज बिहानसम्मको तथ्याङ्कअनुसार भारतमा कोरोना भाइरस संक्रमतिको संख्या ८५ हजार ९ सय ४० पुगेको छ। कोरोनाको उद्गम मुलुक मानिएको चीनमा यो संख्या ८२ हजार ९४१ छ।
भारतमा हरेक दिन ३ हजार ५ सयदेखि ४ हजारको संख्यामा संक्रमितहरु थपिइरहेका छन्। यो ट्रेन्ड झन्डै दुई सातादेखि जारी छ। हिजो बिहानसम्म भारतमा संक्रमितको संख्या चीनको भन्दा कम थियो। चीनलाई उछिन्दा पेरुको संख्याभन्दा पनि माथि पुगेको छ भारत। पेरुमा अहिलेसम्म ८४ हजार ४ सय ९५ संक्रमित छन्।
यससँगै भारत विश्वका धेरै संक्रमित हुने मुलुकको ११ औं स्थानमा पुगेको छ। भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ७ सय ५३ पुगेको छ।