काठमाडौँ, २२ चैत ः पुराना वामपन्थी नेता एवम् पूर्वसांसद कमलराज रेग्मीको ९२ वर्षका उमेरमा ललितपुरको धोबीघाटस्थित निवासमा आज निधन भएको छ ।
विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित चार नेतामध्ये रेग्मी पाल्पाबाट निर्वाचित भएका थिए । अन्य विजयी नेतामा तुल्सीलाल अमात्य(ललितपुर) तथा शेख फरमान र हरदयाल महतो(रौतहट) थिए ।
रेग्मी पञ्चायती व्यवस्थाको स्थापना हुनुभन्दा पहिले कम्युनिष्ट पार्टीको जुझारु र सक्रिय नेता थिए । नेपालको किसान आन्दोलनमा उनको महत्वपूर्ण भूमिका थियो । खास गरेर पाल्पाको किसान आन्दोलन उनको नेतृत्वमा नै चलेको थियो ।
विसं २०१७ पुस १ गते तत्कालीन राजाले प्रतिगामी कदम चाल्दा उनी पहिलो दिनमा नै गिरफ्तार भएका थिए र लामो समयसम्म कारागार जीवन भोग्नुप¥यो । उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न वामपन्थी नेताहरु विष्णुबहादुर मानन्धर, चित्रबहादुर केसी, मोहनविक्रम सिंहलगायत धोबीघाट पुगेका थिए । उनकी श्रीमती तथा एक छोरा र एक छोरी छन् । उनको अन्त्येष्टि चितवन देवघाटमा शुक्रबार गरिने नेकपा(माओवादी केन्द्र)सचिवालय सदस्य सुनिलकुमार मानन्धरले जानकारी दिए ।
उनको निधनप्रति नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले दुःख व्यक्त गर्दै सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । “स्व रेग्मीको पहिलेको सक्रिय पार्टी जीवन र उहाँका सबै सुःखदुःखमा जीवनभर साथ दिएकी उहाँकी जीवनसाथी विमला रेग्मीप्रति पनि उच्च सम्मान प्रकट गर्दै उहाँप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौँ”, विज्ञप्तिमा भनिएको छ ।
रासस