विवादास्पद अभिव्यक्ति दिएका एन्फा अध्यक्ष शेर्पाले माफी मागे

विवादास्पद अभिव्यक्ति दिएका एन्फा अध्यक्ष शेर्पाले माफी मागे

२२ जेठ, काठमाडौँ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो विवादस्पद अभिव्यक्तिका लागि माफी मागेका छन् । शेर्पाले बुधबार विज्ञप्ती जारी गर्दै माफी मागेका हुन् ।

झन्डै दुई साता अघि एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा परेका थिए ।

उनले विज्ञप्तिमा अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् त्यस क्षेत्रका नेपालीहरुमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति हार्दिक क्षमा याचना गरेका छन् । उनले भनेका छन्, ‘अनलाईन अन्तर्वाताको क्रममा व्यक्त भावना भन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतथामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।’

नेपाली सेना सँगको सहकार्यमा तराईका ४ जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउने क्रममा शेर्पाले राष्ट्रियताको प्रसंग उठाएका थिए । उक्त अन्तर्वार्तामा शेर्पाले आर्मीसँगको सहकार्यमा ग्रासरुट सुरु गर्नुको दुई वटा कारण रहेको बताएका थिए ।

‘एउटा तराईको बच्चाहरुलाई फुटबल प्रति आकर्षण गर्नका को लागि । अर्को राष्ट्रियता सिकाउनको लागि हामीले गर्यौं,’ उनले भनेका थिए,’ तराई तिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम पाइन्छ । त्यसले गर्दा आर्मीको ब्यारकेमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गित पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले हामीले काम गरेका छौं ।’

सोहि विषयमा जेठ १४ गते सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न संसदमा माग गरेका थिए । मधेशी आयोगले पनि शेर्पाको विवादस्पद अभिव्यक्ति नोटिसमा आएको जनाएको थियो ।

एन्फा अन्तर्गत नै रहेका ४ जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ) का अध्यक्षले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न माग गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.