सौराहाका होटल क्वारेन्टिन बनाउन तयार

२९ जेठ ७७, शुक्रबार

३० जेठ, सौराहा ।

सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टिनका लागि २९ वटा होटल दिन तयार भएका छन् । ती होटलमा ५०० जना अट्ने जनाइएको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइसकिएको छ । सूचीमा प्रतिव्यक्ति रु दुई हजारदेखि तीन हजारसम्म खाना र बसाइको दररेट राखिएको उनले बताए । उनले भने– ‘पाँच हजार क्षमतासम्मको होटल दिन सक्छौँ ।’ सौराहामा १२० वटा होटल रहेका छन् । लकडाउनसँगै पर्यटक नभएपछि सबै होटल बन्द छन् ।

Advertisement

यसैगरी भरतपुर क्षेत्रका २२ वटा होटलले क्वारेन्टिनका लागि दिन सकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ र होटल व्यवसायी सङ्घले नौ÷नौवटा होटल क्वारेन्टिनमा दिनका लागि तयार भएको जनाएका छन् ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष दीपक ढकालका अनुसार यसका अतिरिक्त नेपाल होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले आफ्नो दुईवटा होटल पनि क्वारेन्टिनमा दिनका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छन् । यसअघि नै अन्य दुईवटा होटल पनि क्वारेन्टिनका रुपमा प्रयोगमा आइसकेको छ ।

Advertisement

अध्यक्ष ढकालका अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आसपासका क्षेत्रमा रहेका होटललाई भने त्यहीको बिरामी राख्नुपर्ने भएकाले क्वारेन्टिनमा दिने सूचीमा राखिएको छैन । यस क्षेत्रका होटलले प्रतिव्यक्ति रु एक हजारदेखि एक हजार ५०० सम्म दररेट राखेका छन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चुकेले स्थानीय प्रशासनलाई निर्णय गरिदिन आग्रह गरिएको र पहिलो चरणका होटलको टुङ्गो लागेसँगै अन्य होटल क्वारेन्टिनमा दिन तयार रहेको बताए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सबै होटललाई स्पष्टरुपमा दररेट राखेर सूची पठाउन आग्रह गरिएको बताए । हालसम्म होटलको माग नभएको भन्दै उनले माग भएमा तत्काल निर्णय गरेर सूची सार्वजनिक गरिने बताए । हाल जिल्लामा बाहिरबाट आएका व्यक्ति स्थानीय क्वारेन्टिनमा बसिरहेका छन् । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top