Nepal Times
Nepal Times
3
Shares

नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै

नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै

काठमाडौँ, ३० चैत ः सरकारले नयाँ सांगठनिक संरचना र दरबन्दीअनुसार मन्त्रालयलाई एकीकृत गर्ने कार्य शुरु गरेको छ ।

केही दिनअघि मात्र मन्त्रिपरिषद्ले पुनर्गठित मन्त्रालयका पुनःसंरचनासहितको दरबन्दी स्वीकृत गरेपछि मन्त्रालयलाई एकीकृत गर्न थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । उनले निजामती किताबखानाबाट स्वीकृत गरिएको दरबन्दीलाई दर्ताका लागि पठाइएको बताए ।

“मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेअनुसारको पुनर्गठित मन्त्रालयको संरचना बनाउने कार्य थालिएको छ”, उनले भने, “किताबखानाबाट दरबन्दी स्वीकृत गरेर आएपछि चाँडै नै मन्त्रालयलाई एकीकृत गरिने छ ।”

मन्त्रिपरिषद् बैठकले २१ वटा मन्त्रालयको सांगठनिक र दरबन्दीको पुनःसंरचना गर्दै दुई हजार ६९४ जनाको दरबन्दी कायम गरेको थियो ।

सबैभन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २३३ र कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ४६ जनाको दरबन्दी स्वीकृत गरिएको छ ।

कूल ३१ बाट २१ मन्त्रालय कायम गरिए पनि मन्त्रालयको काम अझै एकै ठाउँबाट हुन सकेको छैन ।

एउटै मन्त्रालयमा पनि दुईभन्दा बढी सचिव र प्रवक्तासमेत हुने गरेका छन् ।

प्रवक्ता न्यौपानेले एकीकृत रुपमा मन्त्रालयलाई समायोजन नगरे पनि पहिलेको भएको संरचनाअनुसार मन्त्रालय रहने बताए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.