काठमाडौँ, २ वैशाख ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबले आज काठमाण्डौंमा गरेको साक्षात्कारमा उनले नयाँ संरचनाअनुसार भइरहेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा तीनवटै तहमा व्यवस्थापन गर्न सक्ने बताए ।
कर्मचारी कम भएको हुँदा अहिले सरकारले स्वेच्छिक अवकाशको निर्णय स्थगन गरेको बताउँदै उनले भने, “अर्को निर्णय नभएसम्म स्वेच्छिक अवकाश दिने निर्णय स्थगन भएको छ । सरकारले खटाएको ठाउँमा उनीहरु जानैपर्छ, नभए अवकाश लिने निर्णय गर्नुपर्छ ।”
प्रादेशिक लोक सेवा आयोग गठन भएपछि सम्बन्धित प्रदेशले कर्मचारीको व्यवस्थापन गर्ने मन्त्री पण्डितको भनाइ थियो ।
मन्त्री पण्डितले राजनीतिक संक्रमणकाल सकिएर अहिले प्रशासनिक संक्रमणकाल शुरु भएको जानकारी दिँदै संक्रमणकाल पार लगाउनका लागि कर्मचारीको महत्वपूर्ण भूमिका हुनेमा जोड दिए ।कार्यक्रममा नेपाली काँग्रेसका नेता डा नारायण खड्काले राजनीतिक स्थायित्वका लागि आर्थिक, सामाजिक, कूटनीतिकलगायत पक्ष सन्तुलित हुनुपर्ने बताउँदै सरकारले जोसिला र महत्वाकांक्षी योजना बनाएको हुँदा त्यसलाई पूरा गर्न सुझाव दिए ।
उनले सरकारले पूर्व अति विशिष्ठ व्यक्तिलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय स्वागतयोग्य भएको बताउँदै प्रमुख प्रतिपक्ष दलको हैसियतले काँग्रेसले सरकारलाई रचनात्मक सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे।
रासस