२५ असार, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले प्रहरी संगठनलाई आधुनिक प्रविधि र आधुनिकतामा अगाडी बढाउने प्रयत्न आफुले गर्ने बताएका छन् ।
विहीबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दज्यानी चिह्न ग्रहण गरेपछि थापाले संविधान, ऐन र नियमले दिएको सीमा भित्र रहेर काम गर्ने बताए । सम्पूर्ण प्रहरी संगठनलाई साथमा लिएर आफ्नो विवेकले भ्याएसम्म निःस्वार्थ रुपमा खरो उत्रिने उनले बताए ।
महानिरीक्षक एक्लैले सबै अपेक्षा पुरा गर्न नसक्ने उल्लेख गर्दै उनले संगठनको महानिरीक्षकको सफलता÷असफलता नै संगठनको सफलता असफलता भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । प्रहरी संगठनलाई व्यक्तिगत लहडमा नभएर संस्थागत निर्णयका आधारमा अगाडी बढाउने प्रतिवद्धता उनले व्यक्त गरे ।
थापाले संगठनभित्र आफ्नै सहकर्मीहरुलाई व्यवसायीक रुपमा निषेध गर्ने कु संस्कारको अहिले अन्त्य भएको बताए । विगतमा महानिरीक्षकको प्रतिस्पर्धामा हुने गरेको अस्वस्थ प्रतिपस्र्धालाई संकेत गर्दै उनले आफु र प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले त्यसलाई तोडेको बताए । पाल र आफुबीच जो आइजिपी भएपनि सल्लाह र सहयोगमा अगाडी बढ्ने भद्र सहमति भएको खुलासा गर्दै थापाले संगठनको हितका लागि आफ्नो कार्यकालबाट विगतको कु संस्कार तोडिएको बताए ।
गृह सचिव महेश्वर न्यौपानेले नवनियुक्त आइजिपी थापा र पालको प्रतिस्पर्धाले संगठनको मूल्य मान्यताको प्रवर्दनका लागि ठूलो सहयोग गरेको बताए । आगामी दिनमा पनि नेतृत्वलाई सफल बनाउन सबैको सहयोग हुने अपेक्षा रहेको उनले बताए । उनले प्रहरी संगठनलाई असर गर्ने कुराहरु नगर्न/नगराउन पनि सबैलाई तयार रहन आग्रह गरे ।
थापा मंगलबार नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए ।