२८ असार, उदयपुर ।
लगातारको वर्षापछि उदयपुरको त्रियुगा खोलामा आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।
तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ । त्रियुगाखोलामा आएको बाढीको बहाव अझै बढ्दै गएकाले अर्को पोल राख्न तथा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताए ।
तीन दिनदेखि लगातार वर्षा भइरहे पनि खोटाङतर्फको भागमा कुनै पनि क्षति नभएको विद्युत् प्राधिकरणले जनाएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा खोटाङको बुइपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत् विस्तार गरिएको छ ।
तीन जिल्लाका लागि बुइपाको सवस्टेशनमार्फत विस्तार गरिएको विद्युत् लाइन लामो दूरीमा रहेकाले पनि पटक–पटक अवरुद्ध हुने गरेको जनाइएको छ । विद्युत् लाइन विस्तार गरिएको बाटोमा त्रियुगाखोलासँगै ठाउँ–ठाउँमा घनाजङ्गल रहेको छ । जङ्गलको बीचमा पोल गाडेर विद्युत् लाइन विस्तार गरिएकाले हावा चल्दा तथा ठूलो पानी पर्दासमेत विद्युत् अवरुद्ध हुने गरेको छ ।