२८ असार, दाङ ।
आइतबार सलहका दुई वटा झुन्ड नेपाल प्रवेश गरेको छ ।
सलह सूचना केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीले आइतबार बिहान साढे ९ बजे र दिउँसो गरेर दुई वटा झुन्ड दाङमा देखिएको पुष्टि गरे । उक्त झुन्ड धेरै ठूलो नभएर र एक दुई लाखको संख्यामा रहेको सुवेदीले बताए । दिउँसो दाङको राप्ती गाउँपालिकामा सलहको झुन्ड देखिएको हो ।
दिउँसो देखिएको झुन्ड हाल आकाशतिर उडिरहेका छन् । यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले अनुमान गरेको छ । केन्द्रका प्रमुख सुवेदीले भने, भारतको उत्तर प्रदेशस्थित बहराइचमा देखिएको झुन्डबाट टुक्रिएर नेपालतिर आएको हाम्रो अनुमान छ ।
केन्द्रले प्रक्षेपण गरेको ठूला झुन्ड नेपाल प्रवेश नगरेको बताएको छ । यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि सलहको झुन्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो । दाङमा सलह प्रवेश गरेपछि राप्ती गाउँपालिकाले कृषकहरुलाई खबर गरेर सचेत हुन आग्रह गरेको छ ।
गाउँपालिकाले कृषि विज्ञ टोली पठाएको अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए । अहिले मकैबारी र धानखेतमा किसानहरुले भाडाको आवाज र आगो बालेर धुँवा निकाल्ने काम गरिरहेको बताए ।