३० असार, विराटनगर ।
बिराटनगर महानगरपालिका-१५ को रामजानकी चोकमा रहेका २ वटा चिया पसलबाट लागुऔषध बरामद भएको छ । उक्त चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मंगलबार दिउँसो सवा १२ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामना झाको चिया पसलबाट लागुऔषध डाईलेक्स डिसी १ बोतल, कोडिन फोस्फेट २ बोतल र निट्राभेट ३० चक्की तथा सहेदा खातुनको चिया पसलबाट डाईलेक्स डिसी ५ बोतल र बिभिन्न किसिमको लागुऔषधका खाली बोतलहरू १२ वटा बरामद गरेको हो ।
लागुऔषध बरामद भए संगै दुबै चियापसलका संचालक र बिराटनगर–१७ का ३४ बर्षीय प्रदिप राईलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
