सिमकोट : सदरमुकाम पुग्न भौगोलिक हिसाबले टाढा भएपछि हुम्लाका मासपुर गाउँका बासिन्दा लालपुर्जाविहीन छन् । जग्गा उपयोग गर्दै आए पनि सो गाउँका बासिन्दाको लालपुर्जाविहीन जग्गाधनीको परिचय बनेको छ । सदरमुकाम सिमकोट जान मात्र चार दिन पैदल लाग्ने देखिएपछि स्थानीयवासीको हातमा हालसम्म लालपुर्जा नपरेको हो ।
सात हल जग्गा भएकी ताँजाकोट गाउँपालिका–३, मासपुर गाउँकी हीराकला बुढाले जग्गा उपभोग गर्दै आएको भए पनि दर्ता भए–नभएको थाहा नभएको बताउनुभयो । पञ्चायत कालमा मुखियालाई तिरोस्वरूप मानोपाथी तिरेका स्थानीयले हाल भने तिरो पनि तिरेका छैनन् ।
विसं २०५४ सालअघि नै नापीको टोलीले जग्गा नापजाँच सम्पन्न गरे पनि लालपुर्जा हातमा नपरेको उहाँले बताउनुभयो । जिल्ला आएर लालपुर्जा लिन टोलीले सुझाएको भए पनि चार दिन पैदल र एउटा चार हजार अग्लो मनेलेक काट्नुपर्ने भएपछि स्थानीयको जग्गाधनी पुर्जा लिने रहर पूरा हुन नसकेको हो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।