१ साउन, काठमाडौं ।
बिहीबार बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानीकर्ता झुम्मिएपछि बजार ३२ अंकले बढेको छ।
साताको अन्तिम दिन बिहीबार नेप्सेले ३२ अंकको छलाङ मार्दा बजार परिसूचक करिब १४ अंकको नजिक पुगेको छ । आज बजार परिसूचक नेप्से ३२.४२ अंकले बढ्दा १३९४.७७ अंकमा बन्द भएको छ ।
कारोबार खुलेदेखि नै लयमा देखिएको सेयर बजारले साताको अन्तिम दिन ठूलो छलाङ मार्दै नयाँ आर्थिक वर्षलाई स्वागत गरेको हो । बजार परिसूचक नेप्सेसँगै सेन्सेटिभ इन्डेक्समा पनि २.३६ प्रतिशतले बढेको छ । सेन्सेटिभ इन्डेक्स ६.८१ अंकले बढेर २९५.०६ अंकमा पुगेको छ ।
बुधबार बजारमा १८० कम्पनीको २९ लाख १४ हजार ५१८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड १७ लाख ७१ हजार बराबरको कारोबार भएको भएको छ ।
नेप्सेमा नेपाल पुनर्बिमा कम्पनी र एनएमबी बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेपाल पुनर्बिमा कम्पनीको १ लाख ८२ हजार ५६० कित्ता सेयर किनबेच हुँदा ९ करोड ४१ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
कम्पनीको सेयर मूल्य भने १७ रुपैयाँले बढेर ५२१ मा बन्द भएको छ । यस्तै एनएमबी बैंकको सेयरमा पनि लगानीकर्ताको चाप देखिएको छ । बैंकको २ लाख १ हजार ८०६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २७ करोड ५७ लाखको कारोबार भएको छ ।
यस्तै एनआईसी एसिया बैंकको ५ करोड ६८ लाख २२ हजार, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५८ लाख ४८ हजार र नबिल बैंकको ३ करोड ४ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा कारोबार भएका १८० कम्पनीको सेयरमध्ये १११ कम्पनीको सेयर मूल्य बढेको छ ।
त्यस्तै ३९ कम्पनीको सेयर मूल्य भने घटेको छ भने बाँकी कम्पनीको मूल्य स्थीर रहेको छ । नेप्सेमा एनआईसी एसिया लघुवित्तको सेयर मूल्य ९.९६ प्रतिशत वृद्धि हुँदा पोजेटिभ सर्किट लागेको छ ।
त्यस्तै मितेरी डेभलमपेन्ट बैंकको सेयर मूल्य ९.१२ प्रतिशत, लक्ष्मी बैंकको सेयर मूल्य ९.०९ प्रतिशत, पोखरा फाइनान्स सेयर मूल्य ८.९० प्रतिशत, र रिलायन्स फाइनान्सको सेयर मूल्य ८.२६ प्रतिशतले बढेको छ ।
नेप्सेमा सबै समूहको उपसूचक बढेको छ । बजारलाई लिड गर्ने बैंकिङ समूहको उपसूचक सर्वाधिक ३.५६ प्रतिशतले वृद्धि हुँदा विकास बैक समूहको उपसूचक ३.५१ प्रतिशतले बढेको छ ।