त्रिविका स्थगित परीक्षा असोजभित्र हुने

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खोल्ने भएको हो ।

Advertisement

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैँअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारेको जानकारी दिनुभयो ।

तोकियो विधि
विश्वविद्यालयले अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्रमै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने स्पष्ट गरेको छ । सेमेस्टर प्रणालीमा अध्ययन गरेका विद्यार्थीको केही परीक्षा अनलाइन र केही परीक्षा केन्द्रमै पुगेर परीक्षा लिनेगरी सञ्चालन गरिने नियन्त्रक जोशीले जानकारी दिनुुभयो । यसका साथै वार्षिक प्रणालीमा अध्ययनरत विद्यार्थीको परीक्षा अनलाइनमा गर्न समस्या देखिएकाले विद्यार्थी परीक्षा हलमै उपस्थित हुनुपर्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुुभयो ।

Advertisement

यसअघि विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको परीक्षाका लागि अनलाइन, भौतिक उपस्थिति, विद्यार्थीले घरमै लेखेर ल्याउन सकिने लगायतका विकल्प खुला गरेको थियो तर त्रिविले भने अनलाइन या विद्यार्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको हो ।

नियमित परीक्षा दसैँपछि
स्थगित परीक्षा सकेपछि परीक्षाको तयारीमा रहेका स्नातक तथा स्नातकोत्तर तह तथा सेमेस्टर प्रणालीमा सञ्चालित बाँकी विद्यार्थीको परीक्षा लिइने भएको छ । यो परीक्षा दशैँपछि सञ्चालन गरिने जानकारी त्रिविले दिएको छ । विश्वविद्यालयमा अध्ययन गरेका लाखौँ विद्यार्थी यसबाट लाभान्वित हुनेछन् ।

Advertisement

साउन ७ पछि कार्यतालिका
परीक्षाका कारण लामो समयदेखिको जारी अन्योल चिर्न तत्काल निर्णय लिनुपर्ने छ । विश्वविद्यालयले यसको औपचारिक सूचना सार्वजनिक गर्न साउन ७ गतेपछि दिने भएको छ । सरकारले कोरोना भाइरसको नियन्त्रणमा तथा व्यवस्थापनका लागि जारी बन्दाबन्दीको पछिल्लो समय साउन ७ गते सकिने भएकाले त्यसपछि कार्यतालिका सार्वजनिक गर्ने योजनामा आफूहरू रहेको परीक्षा नियन्त्रक जोशीले जानकारी दिनुभयो ।,यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top