२ साउन, विराटनगर ।
विराटनगरमा लुटपाटमा संलग्न ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गत बैशाख ११ गते साँझको समयमा स्कुटीमा जाँदै गरेका विराटनगर-२ का दिपेन्द्र विश्वासको साथबाट मोबाईल र नगद १५०० रुपैँया लुटपाट गर्ने विराटनगर-५ का ४ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर -५ का १९ वर्षीय सुरज उराँव, १९ वर्षीय राकेश सतार, २१ वर्षीय अजय सतार र २२ वर्षीय अनिल उराँव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुले रुमालले मुख छोपी पहिचान लुकाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
लुटपाटमा संलग्न उनीहरुलाई प्रहरीले बुधबार दिनको साढे ४ बजे विराटनगर-५ स्थित चौबाटोबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मान बहादुर राईले जानकारी दिए ।