काठमाडौँ, ७ वैशाख ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताएका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका मन्त्री ज्ञवालीले सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित सिचुवान विश्वविद्यालयले आज विश्वविद्यालयको प्रेक्षालयमा आयोजना गरेको ‘नेपाल–चीन सम्बन्ध र हिमालय क्षेत्र सीमापार विकासका सम्भावना’ विषयक प्रवचनमा उनले बिआरआईअन्तर्गत निर्माण हुने सीमापार सडक, रेलमार्ग, तेलका ‘पाइपलाइन’, सूचनामार्ग, ऊर्जा ‘ग्रिड’, हवाईमार्ग, प्रसारण मार्गले हिमालय क्षेत्रका स्रोत र साधनको उपयोगबाट उक्त भेगका जनताको जीवनस्तर उकास्ने बताए ।
परराष्ट्र मन्त्रालयका अनुसार पारस्परिक लाभ तथा दुवै पक्षलाई समान परिणाम प्राप्त हुने गरी नेपाल र चीनले आफ्ना सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ज्ञवालीले विश्वभर ऐतिहासिक रुपमा सामाजिक–आर्थिक रुपान्तरण भइरहेका बेला गरिबी घटाउने र समृद्धि बढाउनेतर्फ लाग्नु अपरिहार्य भएको बताए। अविकास र गरिबीबाट वर्तमान विश्व विमुख हुन चाहेको स्पष्ट गरे।
चीनका केन्द्रीय नेताहरुसँग बेइजिङमा भएको आफ्नो भेटवार्ताबारे जानकारी दिँदै उनले नेपालको विकास प्रयासमा सघाउन उनीहरुले दृढता व्यक्त गरेकाे बताए।
नेपाल र चीनबीच हिमालय सीमापार क्षेत्रमा निर्माण हुने भौतिक पूर्वाधारबाट आर्थिक अवसरको प्रवद्र्धनका साथै वस्तु, सेवा तथा मानिसको आवागमन सहज बन्ने वास्तविकता औँल्याए । उनले व्यापार तथा आर्थिक एकीकरणका साथै साझा समृद्धिका लागि त्यस्ता पूर्वाधार निर्माण हुनु अहिले उपयुक्त समय हो भने।
शिक्षा, विज्ञान तथा प्रविधिका माध्यमबाट सामाजिक–आर्थिक उन्नयनका निम्ति सिचुवान विश्वविद्यालयले अग्रपंक्तिमा रहेर निर्वाह गरेको भूमिकाको मन्त्री ज्ञवालीले सराहना गरे ।
रासस