झोला फ्याँकेर भागेका सुन तस्कर नवलपरासी पूर्वबाट पक्राउ

झोला फ्याँकेर भागेका सुन तस्कर नवलपरासी पूर्वबाट पक्राउ

१५ साउन, काठमाडौं ।
१४ केजी ५ सय ग्राम चाँदी, ५ सय ग्राम सुन र २ थान पेस्तोलसहित सडकमा फ्याँकेर भागेका ३ जना भारतीय नागरिक नवलपरासी पूर्वबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पूर्वी नवलपरासीको दुम्कीबासबाट तीनै जनालाई बुधबार पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार देवान पटेल, विजय पटेल र निलेश सखिया बुधबार दिउँसो पक्राउ परेका हुन् ।

सखिया १२ दिनअघि नेपाल आएका थिए । अन्य दुई जना केही महिना पहिले नै काठमाडौं आएको खुलेको छ । तीनैजना अभियुक्त गुजरातको राजकोटका नागरिक भएको पनि खुलेको छ । उनीहरुलाई राति नै काठमाडौं ल्याइएको छ ।

प्रहरी जाँचमा परेपछि मंगलबार बिहान कमलादीमा चाँदीको बिस्कुटमा जलप लगाइएको साढे १४ केजी र ५ सय ग्राम सक्कली सुन तथा २ थान पेस्तोल बाटैमा मिल्काएर उनीहरु भागेका थिए । त्यहीदिन उनीहरु काठमाडौंबाट भागेका थिए ।

महानगरीय अपराध महाशाखाले घटनामा छानबिन गरिरहेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनास्थल कमलादी बताएको थियो । तर महाशाखाको अनुसन्धानमा घटनास्थल अन्यत्रै रहेको हुनसक्ने आशंकामा पनि अनुसन्धान गरिरहेको छ ।

प्रहरीले किन त्यसदिन घटनास्थल परिवर्तन गरेको भन्नेमा पनि अनुसन्धान भइरहेको महाशाखा स्रोतले बतायो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले पनि घटनास्थल कमलादीस्थित नबिल बैंक अगाडी भएको बताएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.