कैलालीको कैलारी गाउँपालिकामा भोलिदेखि अनिश्चितकालीन लकडाउन

२१ साउन, कैलाली । कैलालीको कैलारी गाउँपालिकाले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको विपद् व्यवस्थापन समिति, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीका बिओपी प्रमुख, बजारका प्रतिनिधि, नागरिक समाज र सबै वडाका अध्यक्षहरूको बैठकले बिहीबारदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

क्वारेन्टिनमा बसेकासँगै स्वास्थ्यकर्मी, भान्से र विद्यालयको चौकीदारमा पनि संक्रमण देखिँदा उनीहरूको सम्पर्कमा धेरै मान्छे आएको पाइएपछि लकडाउन गरिएको गाउँपालिकाले जनाएको छ।

लकडाउनको पालना भए/नभएको निगरानी स्थानीय प्रहरी प्रशासनले गर्नेछ । लकडाउनमा सरकारी कार्यालयमा भने कोभिड-१९ बाट बच्न सुरक्षा सतर्कता अपनाएर सेवा सुचारू राखिने छ।

कैलारी गाउँपालिकामा संक्रमतिको संख्या ४८ जना रहेको छ। तीमध्ये ४१ जना निको भएका छन् भने ७ जना सक्रिय संक्रमित छन्।

Scroll to Top