‘हेर्दाहेर्दै डेढ वर्षीय छोरालाई चितुवाले लग्यो’

२२ साउन ७७, शुक्रबार

२२ साउन, दमौली । 

 बुधबार राति ८ बजे तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका कृष्णमाया राना छोरासँग घरको पिढीमा बसिरहेकी थिइन् । डेढ वर्षीय छोरा नारायण रानाले कट्टुमा पिसाब फेरेपछि कट्टु फेरिदिनका लागि कृष्णमाया घरभित्र पसेर बाहिर निस्कदा नारायणलाई चितुवाले झम्टियो । कृष्णमाया आत्तिइन्, चिच्याइन् तर केही सीप लागेन ।

“हेर्दाहेर्दै चितुवाले छोरालाई झम्टिएर लगिहाल्यो, एकछिन चिच्याए तर मेरो केही सीप लागेन”, आँखाभरी आँशु निकाल्दै कृष्णमायाले भनिन्, “सँगै भएको छोरालाई केही सेकेण्डमै चितुवाले लगेर मार्यो ।” त्यतिबेला कृष्णमायाका ससुरा पनि घरको पिढीमै थिए । कान कम सुन्ने भएकाले चितुवाले नातिलाई झम्टेर लगेको उनले पत्तो पाएनन् ।

Advertisement

बालकका बुबा विष्णुबहादुर मेलाबाट घर फर्किदै थिए । तत्कालै हारगुहार भएपछि स्थानीयवासी जम्मा भएर बालकलाई खोज्नेतर्फ लागे । एक÷डेढ घण्टा खोजेपछि घरभन्दा तलको जङ्गलमा नारायणको टाउको र एउटा हात फेला पर्यो । मसारमा चार घरधुरीको मात्रै बसोबास छ । चारैतिर जङ्गलले घेरिएको ठाउँ । मृत्यु भएका नारायण कृष्णमायाका कान्छा छोरा हुन् । जेठो छोरा रोहन ७ वर्षका छन् । घटना भएको बेला जेठो छोरा रोहन र सासु घरभित्र थिए ।

चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि स्थानीयवासी त्रसित छन् । स्थानीयवासी पूर्णबहादुर रानाले चितुवाले फेरि पनि आक्रमण गर्न सक्ने भएकाले सतर्क रहनुपर्ने बताए । “दुई चारदिन अगाडी पनि गाउँमा चितुवा आएको थियो, त्यतिबेला लखेटियो । यस्तो दुखद घटना हुन्छ भन्ने सोचिएन”, उनले भने ।

Advertisement

तनहुँमा पछिल्लो समय चितुवाको आक्रमण बढ्दै गइरहेको छ । चितुवाको आक्रमणबाट विसं २०७४ फागुन यता दश जना बालबालिकाले ज्यान गुमाएका छन् भने आठ जना घाइते भएका छन् । तनहुँमा भएका चितुवा आक्रमणका घटना सबै रातिको समयमा भएका छन् । “साँझ परेपछि चितुवाले आक्रमण गर्ने गरेको देखिएको छ,” डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले भने, “घरबाहिर कुरेर बस्ने र बच्चालाई आक्रमण गर्ने गरेको यस अगाडीको घटनाले देखाएको छ ।”

जिल्लामा चितुवाको आक्रमणका घटना सबै साँझको समयमा भएकाले त्यसबेला विशेष सतर्कता अपनाउनुपर्ने बरालको सुझाव छ । “रातको समयमा बालबालिकालाई घरबाहिर एक्लै छाड्न हुँदैन, घर वरपरका झाडी सफा राख्ने, घरबाहिर उज्ज्यालो राख्नुपर्छ”, उनले भने । बरालका अनुसार एक पटक चितुवाले आक्रमण गरेपछि उक्त चितुवा तीन÷चार दिन सोही ठाउँ वरपर घुम्ने गर्छ ।

यसैबीच डिभिजन वन कार्यालय तनहुँले आज पीडितको घरमा पुगेर किरिया खर्चबापत रु ५० हजार प्रदान गरेको छ । उक्त रकम डिभिजन वन प्रमुख बरालले मृतक बालकका बुबा विष्णुबहादुरलाई प्रदान गरे । चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई थप रु नौ लाख ५० हजार प्रदान गरिनेछ । मानिसको जीवनभन्दा ठूलो पैसा नभएपनि राज्य जनताको साथमा छ भन्ने अनुभूति दिलाउन केही राहत रकम प्रदान गर्ने नीति रहेको बरालले जानकारी दिए ।

पीडितलाई सान्त्वना दिन पुगेका शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले यस्ता घटना दोहोरिन नदिन सबै सतर्क हुनुपर्ने बताए । पीडित परिवारलाई नगरपालिकाको तर्फबाट सहयोग गरिने बताउँदै उनले भने, “जङ्गलका बीचमा भएका घरहरुमा चितुवाको बढी जोखिम देखिएको छ, रातिको समयमा बच्चालाई एक्लै नछाड्ने, घर बाहिर बत्ती राख्ने लगायतका काम गर्नुपर्ने देखिएको छ ।”

डिभिजन वन कार्यालय तनहुँले चितुवा नियन्त्रणका लागि उक्त ठाउँमा तत्कालै खोर राख्ने भएको छ । कार्यालयले केही दिन अगाडी आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा दुईवटा खोर राखेको छ । समस्तीपुरमा चितुवाको आक्रमणबाट दश वर्षीया बालिका अमिषा थापा घाइते भएकी थिइन् ।

चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, विसं २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोकका नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।

त्यस्तै विसं २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महीनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली र माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनारको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।–कृष्ण न्यौपाने/ रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top