२७ साउन, पोखरा ।
बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एसएसपी राजेन्द्रकुमार अधिकारीलाई मंगलबार पूर्पक्षका लागि थुनामा पठाइएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने आदेश गरेसँगै उनी कास्की जिल्ला कारागार चलान भएका हुन ।
उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न भनिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्ययाले बताए । उनले भने– ‘मिसिल संलग्न तत्काल बुझिएका प्रमाण र कागजबाट प्रतिवादी (अधिकारी) निर्दोष रहेछन् भन्ने अवस्थाको विद्यमानता नभएको आदेशमा रहेको छ ।’
पोखराको लामापाटनमा रहेको सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका प्रमुख अधिकारीमाथि एक महिलालाई आफ्नै क्वार्टरमा बोलाएर जबरजस्ती गरेको आरोप थियो । घटना भएको दिन दिउँसो ३ बजेतिर कन्ट्रोल रुममा २७ वर्षीया एक युवतीले रुँदै आफूलाई अधिकारीले खाना खान बोलाएर जबरजस्ती गरेको मौखिक उजुरी दिएकी थिइन् । महिलाको उजुरीका आधारमा कास्की प्रहरीले घटना भएकै दिन असार ३१ मा अधिकारीलाई झाडीमा लुकेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरीले गत बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालय कास्कीमा पेश गरेको थियो । न्यायाधिवक्ताको कार्यालयले आइतबार जिल्ला अदालतमा पेश गरेको थियो ।