‘लगभग मिल्यो’ नेकपा विवाद

काठमाडौं : पार्टी नफुट्ने गरी ५ दिनमा ‘सिनारियो’ फेरिने प्रधानमन्त्रीले बताएको २ दिनमै नेकपा विवाद टुंगिने मोडमा पुगेको छ। विवाद र असमझदारी सल्ट्याउन त्रिपक्षीय शक्ति सन्तुलनमा रहेका समूहका दुई–दुई नेता सम्मिलित सुझाव कार्यादल बनाइएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट माग भइरहेको राजीनामाको विषय यससँगै सकिएको छ। यससम्बन्धी विवाद अब पार्टी महाधिवेशनबाट छिनोफानो लगाउने गरी प्रक्रिया अघि बढेको छ।

Advertisement

अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच बिहीबार र शुक्रबार यसका लागि घनिभूत छलफल भएका थिए। पार्टी जीवनमा देखा परेका सबै समस्याका सन्दर्भमा छलफल गरी एकीकृत प्रस्ताव तयार पार्न कार्यदल बनाउने निचोडमा उनीहरू पुगेका हुन्।

कार्यदल महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाइएको छ। त्यसमा ओली पक्षबाट पौडेल, शंकर पोखरेल, दाहालतर्फका पम्फा भुसाल, जनार्दन शर्मा र माधवकुमार नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे राखिएका छन्। कार्यदलको समय सीमा तोकिएको छैन। तर, छिटोभन्दा छिटो लिखित रूपमै प्रस्ताव तयार पारी बुझाउन दुवै अध्यक्ष (ओली र दाहाल) ले अपेक्षात्मक आग्रह गरेका छन्। कार्यदलले शनिबारै काम सुरु गर्ने संयोजक पौडेलले बताए।

Advertisement

‘दुई अध्यक्षबीच छलफल भयो। पार्टीको आन्तरिक जीवनमा देखिएका समस्याहरूलाई सकारात्मक रूपमा समाधान गर्ने र जनताले पार्टीलाई दिएको जिम्मेवारीलाई निष्कर्षमा पुर्‍याउने विषयमा सहमति भएको छ’, पौडेलले अन्नपूर्णसँग भने, ‘अहिले देखिएको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन भएको छ, शनिबारदेखि काम सुरु गरेर चाँडोभन्दा चाँडो अध्यक्षद्वयलाई प्रस्ताव पेस गर्नेछौं।’

कार्यदलको पहिलो बैठक शनिबार दिउँसो साढे १२ बजे पौडेल निवासमा बोलाइएको छ। कार्यदलले दुई अध्यक्षको कार्यविभाजन, अधिकार बाँडफाँडदेखि एकता महाधिवेशनको कार्यतालिकाबारे सिफारिस गर्नेछ। साथै, पार्टीको वैचारिक राजनीतिक बहस, आलोचना, आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, विवादित नियुक्ति बदर, राजनीतिक नियुक्तिमा संस्थागत निर्णय, मुख्यमन्त्री हेरफेरलगायत समग्र विषयमा केन्द्रित रहेर छलफल गर्नेछ। त्यहीअनुसारको एकीकृत प्रस्ताव तयार पार्नेछ।,याे समाचार अन्नपुर्ण पाेष्ट दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top