१ भदौ, काठमाडौं । कोरोना सङ्क्रमित फेरि बढ्दै गएपछि न्यूजिल्याण्डको आम चुनाव एक महिना पछाडि सारिएको छ ।
प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले कोरोना भाइरसका सङ्क्रमितहरु फेरि देखिन थालेपछि चुनाव एक महिनापछिका लागि सारिएको घोषणा गरेकी हुन् ।
न्यूजिल्याण्डमा आउँदो सेप्टेम्बर १९ मा आम चुनाव हुने भनिएको थियो । अब अक्टोबर १७ का लागि मतदानको मिति तोकिएको प्रधानमन्त्री ज्यासिन्डाले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री ज्यासिन्डाले चुनावको नयाँ मितिले चुनावी अभियान चलाउन अवसर दिने पनि बताएकी छन् । कोरोना भाइरसका सङ्क्रमित देखिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन गरिएको छ ।
न्युजिल्याण्डमा सङ्क्रमितको सङ्ख्या १६ सय २२ रहेको छ भने कोरोना भाइरसका कारण २२ जनाको ज्यान गएको छ ।
