मत्स्येन्द्रनाथको जात्रामा झण्डै ७० लाख खर्च लाग्ने

१३ बैशाख ७५, शुक्रबार

ललितपुर, १४ वैशाख ः रातो मत्स्येन्द्रनाथको खर्च यो वर्ष झण्डै रु ७० लाख पुग्ने भएको छ ।

रथ निर्माणका लागि विभिन्न काममा झण्डै रु ५० लाख र मत्स्येन्द्रनाथका सेवक (रकमे) को खान्कीमा झण्डै रु २० लाख गरेर रु ७० लाख पुग्ने अनुमान गुठी संस्थान ललितपुर शाखाको छ ।

वर्षेनी पाँचदेखि १० प्रतिशतको हाराहारीमा खर्च बढ्ने शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए । डोरी र बेतमा वर्षेनी पाँच प्रतिशतका दरले रकमेको ज्याला पनि बढिरहेको छ । यस वर्ष यँवाल र बाराहीको ज्याला १० प्रतिशतले वृद्धि भएको छ । पुल्चोकस्थित रथ निर्माणमा काम गर्नेहरुको खाजा खर्चमा झण्डै ३० देखि ४० प्रतिशत बढेको जानकारी दिंदै उनले भने, “सबै कुरा महँगो भइरहेकाले बढी बजेट आवश्यक भएको हो ।”

Advertisement

मत्स्येन्द्रनाथको जात्रा अघिदेखि जात्राको अवधिभर विभिन्न काम गर्नेहरूलाई शाखाले खान्की र पारिश्रमिक दिँदै आएको छ । यहाँको कतिपय रकमेका लागि छुट्याइएको जग्गा पहिले रैकर हुँदा गुठीले उनीहरुलाई खान्की दिने गरेको छ । जग्गा हुने रकमेमध्ये केहीले आफैँ मोहीसँग कुत बुझ्ने गरेका छन् भने कतिले गुठीमार्फत लिन्छन् । अहिलेसम्म गुठीको आफ्नो आम्दानीले नै जात्रा धानिरहेको छ । शाखा प्रमुख पौडेलले भने, “मत्स्येन्द्रनाथको नाममा भएको जग्गाबाट हामीले अझै पर्याप्त आम्दानी लिन सकेका छैनौँ ।”

मत्स्येन्द्रनाथ गुठी पशुपतिनाथ गुठीपछि सबैभन्दा बढी जग्गा र सम्पत्ति भएको गुठी हो तर कतिपय जग्गा कहाँ छ पत्ता नलाग्नु, कति दर्ता हुन बाँकी हुनु र कतिपय रैकर भइसकेकाले आम्दानी कम भएको बताइएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top