चीनलाई उपहार दिने गैँडा फेला परेन

१४ बैशाख ७५, शनिबार

काठमाडौं – चीनलाई उपहार दिने भनिएको एकसिंगे गैँडा एक साता खोजी गर्दा पनि फेला पर्न सकेको छैन । चिनियाँ र नेपाली विज्ञसहित प्राविधिकहरूले चितवन राष्ट्रिय निकुञ्जमा एक सातादेखि खोजी गर्दा पनि गैँडा फेला नपरेको हो । आजको नयाँ पत्रिकाको पृष्ठ २ मा यो समाचार छ ।

चीनलाई उपहार दिने भनिएका दुई जोडी गैँडाको ६ वैशाखदेखि निकुञ्ज क्षेत्रमा खोजी भइरहेको छ । दैनिक रूपमा २५ देखि ३० जनाको टोलीले गैँडाको खोजी गरिरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महार्निर्देशक मनबहादुर खड्काले बताए । गैँडाको खोजीमा चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत, भेटेनेरी चिकित्सक, गेम स्काउट, रेन्जरसहित ४ देखि ६ वटा हात्तीसमेत प्रयोग भइरहेको उनले बताए । ‘शुक्रबार गैँडाको सबैभन्दा धेरै आवत–जावत गर्ने क्षेत्र पत्ता लगाएका छौँ ।’ खड्काले भने, ‘अब गैँडा समात्न धेरै समय लाग्दैन । केही दिनभित्रै गैँडा समात्छौँ ।’ चीनलाई हस्तान्तरण गर्ने गैँडा एक १ देखि २ वर्षसम्मको हुने खड्काले बताए । सानो भए पक्रिन पनि सजिलो हुनुका साथै हस्तान्तरण गर्न पनि सजिलो हुने विज्ञहरूले बताएका छन् ।

जंगलमा बसेको गैँडा पक्रिँदा विशेष सावधानी अपनाउनुपर्ने भएकाले समय लागेको हुन सक्ने गैँडाविज्ञ नरेश सुवेदीले बताए । ‘जंगली जनावर पक्रिन घरपालुवा जनावरजस्तो सजिलो हुँदैन,’ उनले भने, ‘गैँडा आफैँमा खतरानक जनावर भएकाले होसियारीपूर्वक पक्रिनुपर्छ ।’ पानीमा बसेको, आमासँगै भएको वेला वा झाडीमा बसेका वेला गैँडा पक्रिन गाह्रो हुने सुवेदीले बताए । टाढाबाट केटाकेटी छुट्याउन पनि गाह्रो हुने भएकाले समस्या हुने उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top