नाग्म पहिरो : मृत्यु हुनेकाे संख्या १० पुग्याे

१५ भदौ, कालीकोट ।
पहिरोले कालिकोटको तिलागुफा–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । २ जना बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका २ जनालाई उपचारार्थ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

Advertisement

आइतबार बिहान नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव फेला प्रहरीले जनाएको छ ।

पहिरोमा परेर शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका ४ जनाको मृत्यु भएको छ । ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो । यस्तै, सुर्खेतको भेरीगंगा–१० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सुरुमा ८ र केही घण्टापछि २ जनाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए ।

Advertisement

खोजीमा सेना, सशस्त्र र नेपाल प्रहरीसँगै स्थानीय पनि लागिपरेका छन् । उद्धार टोलीले डोजर पनि लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरिरहेको छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार बेपत्ता रहेका २ जनाको नाम खुलिसकेको छैन । जीवितै उद्धार गरेर अस्पताल पठाइएका अर्जुन हमाल र पुन्नी शाहीको अवस्था सामान्य छ ।

स्थानीय प्रशासनले भदौ २० सम्म निषेधाज्ञा जारी गरेकाले बिहान पहिरो जाने बेला सबै घरभित्रै भएको हुन सक्ने स्थानीयले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top