चिया दिवसमा भोजपुरको चिया

१५ बैशाख ७५, आइतबार

काठमाडौँ, १६ वैशाख ः राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा थामडाँडा टेम्के सिलिचुङ चिया कृषि सहकारी संस्था (टिटिएस) ले शनिवार काठमाडौँमा एक कार्यक्रम गरी चिया दिवस मनायो ।

कार्यक्रममा संस्थाका अध्यक्ष गणेश राईले भोजपुरमा प्रधान कार्यालय भएको संस्थाले भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभा गरी चार जिल्लालाई कार्यक्षेत्र बनाएको र हालसम्म ३५० शेयर सदस्य भइसकेको तथा ५०० सदस्य पु¥याउने लक्ष्य रहेको जानकारी दिए ।

पूर्व प्रजिअ समेत रहनुभएका राईले संस्थाले हाल भोजपुरमा १० वटा बगानमा चिया खेती शुरु गरेको र चिराइतो, लोठसल्लाजस्ता बहुमूल्य जडीबुटीको समेत खेती गर्ने योजना रहेको बताए ।

Advertisement

उनले संस्थाले भोजपुरका थामडाँडा, टेम्केदेखि सिलिचुङ डाँडासम्मका पर्ती तथा बाँझो रहेका जमिनमा कृषकबाट जग्गा लिजमा लिई उनीहरुलाई समेत सहभागी गराई चिया तथा जडीबुटी खेतीमार्फत किसानको जीवनस्तर उकास्न प्रयास गरिरहेको बताए ।

यसै सन्दर्भमा हालसम्म संस्थाले एक हजार रोपनी जग्गा प्राप्त गरिसकेको उनले बताए । संस्थाबाट उत्पादित चिया प्रशोधन गर्न डेनिस सरकारको उन्नति कार्यक्रममार्फत रु ८५ लाखको लागतमा भोजपुरको कटुञ्जेस्थित बतासे मुलाबारीमा चिया प्रशोधन कारखाना निर्माण भइसकेको पनि उनले जानकारी दिए ।

Advertisement

कार्यक्रममा समाजसेवी हिमाल राई, शिक्षक देवी घिमिरे, कृष्ण तिम्सिना, भक्तबहादुर राई, गणेश दाहाललगायतले संस्थामार्फत चिया खेती विस्तार गर्न हरसम्भव सहयोग गर्ने वचनबद्धता प्रकट गरे ।

सो अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत २१ जनालाई सल्लाहकारमा मनोनयन गरिएको जानकारी दिइयो ।

कार्यक्रममा नयाँ शेयर सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने चिया दिवस परेको सन्दर्भमा भोजपुरस्थित संस्थाका बगानमा उत्पादित चिया उपस्थित आगन्तुकलाई प्रथम पटक खुवाइएको थियो । भोजपुरका बतासे, लहरेमाने लगायत स्थानमा चिया रोपिएको तीनबर्ष पुगेपछि यसपटक चियापत्ती टिप्न लायक भएकाले प्रशोधित गर्नुपर्ने अवस्था भएको हो ।

संस्थाका व्यवस्थापन संयोजक लक्ष्मीप्रसाद घिमिरेले संस्थाका कार्यक्रमबारे जानकारी दिएका थिए भने संस्थाका गतिविधिबारेको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top