विराटनगर वैशाख १७ ः निजी विद्यालयहरुका संगठन प्याब्सन, हिसान र एन प्याब्सनका पदाधिकारीलाई पाँच दिनभित्र राजीनामा दिन अखिल (छैठौं)ले चेतावनी दिएको छ ।
अल्टिमेटम दिइएको म्यादभित्र राजीनामा नदिए कार्यसमितिलाई कुनै पनि काम गर्न नदिने राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौँ) का केन्द्रीय अध्यक्ष विमल पोखरेलले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।
‘पाठ्यपुस्तक, स्टेशनरी र ड्रेसहरुमा सिण्डिकेट खडा गरिएको छ, यस्ता कार्यले निजीकरण, व्यापारीकरण र माफियाकरणलाई झन् बढावा दिँदै आएकाले प्याब्सन, एन प्उाब्सन र हिसानजस्ता संस्थाहरुको औचित्य समाप्त भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ
विज्ञप्तिमा अगाडि भनिएको छ ‘ सबै पदाधिकारीहरुले राजीनामा गर्नुभई शैक्षिक निजीकरण र व्यापारीकरण विरुद्धको हाम्रो आन्दोलनमा सहयोग गर्नुहुन अनुरोध छ ।’
दबाब पत्र प्राप्त गरेको पाँच दिनभित्र राजिनामा नदिए कार्यसमितिलाई कुनै पनि काम गर्न नदिने र प्याब्सन, एन प्याब्सन र हिसान कार्यसमितिले राजिनामा नदिई कुनै निर्णय गरे त्यसको परिणाम गम्भिर हुने भनी विज्ञप्तिमा भनिएको छ ।