२३ भदौं, काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाले घर र गाडी कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो ।
नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत आवधिक कर्जाका ब्याजदर परिवर्तन गर्न पाउने छैनन् । यसको अर्थ ग्राहकले ऋण लिँदाको बखत जति ब्याजदर तय भएको सोही दर नै कर्जाको परिपक्वको अवधिभर लागू हुनेछ । ‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नु पर्नेछ,’ निर्देशनमा उल्लेख छ, ‘यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधीभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ ।’
बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउनेरबढाउने गर्दै आएका थिए । बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गरिन्छ । बेस रेट बढेसँगै बैंकहरुले तत्कालै ब्याजदर बढाइहाल्थे ।
राष्ट्र बैंकको यो निर्देशनसँगै अब घर तथा गाडी कर्जा लिनेलाई केही राहत हुने भएको छ । राष्ट्रबैंङ्कले यी शीर्षकको ब्याजदर भने ६–६ महिनामा प्रकाशित गर्न निर्देशन दिएको छ ।


