५ असोज, विराटनगर ।
मोरङको ग्रामथान गाउँपालिका–४ मा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ग्रामथान–४ बनसखण्डी बस्दै आएकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ वर्षीया छोरी पवित्रा र ९ वर्षीया छोरी कृतिकाको मृत्यु भएको हो ।
आईतबार बिहान अन्दाजी ११ बजे माछालाई चारो हाल्न भनि गएका उनीहरु साँझ सम्ममा घर नआए पश्चात गएर हेर्दा तीनै जना पोखरीमा डुबी मृत्यु भएको अवस्थामा फेला परेका थिए ।
पोखरीको डिलमा कपडा खोलेर पौडी खेल्न गएकी कान्छी छोरी पोखरीमा डुबेपछि उनलाई निकाल्न दिदी पबित्रा पोखरीमा पसेकी थिइन् । पबित्रा पनि डुबेपछि सीता पोखरीमा पसेको र पोखरी गहिरो भएका कारण तीनैजना निस्कन नसकेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । आमाको शव कपडा लगाएकै अवस्थामा फेला परेको थियो भने ९ वर्षीया कृतिका नाङ्गै र १३ वर्षीया पवित्रा भित्री बस्त्र लगाएको अवस्थामा मृत भेटिएको उनले बताए ।
श्रीमान ९ वर्षदेखि सम्प्र्कविहिन भएपछि सीता दुई छोरीसहित माइतमा बस्दै आएकी थिइन् । माइती घरमा माछा पाल्नका लागि पोखरी बनाइएको थियो । त्यहि पोखरीको रेखदेख गर्ने जिम्मा सीतालाई रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरीले तीनै जनाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याएको छ ।
