७ आश्विन, एजेन्सी ।
एक दिनअघि मात्रै पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले राष्ट्रसंघको ७५ औं वर्षगाँठका अवसरमा आफ्नो भाषणमा कश्मीरको मुद्दा उठाएका थिए।
मंगलबार पुन टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्डोगानले कश्मीर मुद्दालाई संयुक्त राष्ट्रसंघमा अगाडी सारेका छन् । टर्कीका राष्ट्रपति एर्डोगानले मंगलवार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा भारतका कारण कश्मीर मुद्दा जटिल बनेको बताए। ‘कश्मीर संघर्ष दक्षिण एसियामा शान्ति र स्थिरताका सन्दर्भमा निकै महत्वपूर्ण छ।
यो अहिले पनि एक ज्वलन्त मुद्दा हो। जम्मू–कश्मीरको विशेष दर्जा अन्त्य गरेपछि स्थिति अझै जटिल बनेको छ, उनले भने। कश्मीरका नागरिकको चाहनाअनुसार वार्ताबाटै समस्या समाधान गर्नुपर्ने उनको भनाई थियो। ‘हामीहरु कश्मीर मुद्दाको समाधान सम्वाद, राष्ट्रसंघको प्रस्ताव र कश्मीरका नागरिकको चाहनाको आधारमा गर्नुपर्ने पक्षमा छौं, राष्ट्रपति एर्डोगानले भने।
टर्कीका राष्ट्रपतिको यो सम्बोधनमा भारतले कडा आपत्ति जनाएको छ। राष्ट्रसंघमा भारतका प्रतिनिधि टिएस त्रिमूर्तिले यसलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप भनेका छन्। भारतको केन्द्र शासित प्रदेश जम्मू(कश्मीरमाथि राष्ट्रपति एर्डोगानको टिप्पणी भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो।
यो भारतका लागि पूर्ण रुपमा अस्वीकार्य छ। टर्कीले अर्को देशको सम्प्रभुताको सम्मान गर्न सिक्नुपर्छ, त्रिमूर्तिले भनेका छन्। भारतले गत वर्ष ५ अगस्टमा धारा ३७० खारेज गर्दै जम्मू–कश्मीरको विशेष दर्जा अन्त्य गरेर केन्द्र शासित दुई प्रदेशमा विभाजन गरेको थियो। जसको पाकिस्तानसहित टर्कीले पनि विरोध गरेको थियो।
