बढ्यो रेमिट्यान्स, साउनमा मात्रै ९२ अर्ब ७१ करोड भित्रियाे

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा पनि रेमिट्यान्समा कोभिड–१९ को असर परेको छैन । साउनमा रेमिट्यान्स गत असारको हाराहारीमै आएको छ । राष्ट्र बैंकका अनुसार यस वर्षको साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको त्यही अवधिको तुलनामा यो २३ प्रतिशत बढी हो । अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह २ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १४.५ प्रतिशत बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशत बढेको थियो ।

नेपालमा लकडाउन सुरु भएको महिना (गत चैतमा) ३४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरिएको थियो । किनकि अघिल्लो महिना करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो । वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो ।

Advertisement

तेल उत्पादन गर्ने खाडीलगायतका मुलुकको अर्थतन्त्रमा अपेक्षित रूपले गिरावट नआएको र ती राष्ट्रका उत्पादनमूलक क्षेत्रमा कोभिड–१९ को असर कम देखिएको हुनाले नेपाल भित्रिने रेमिट्यान्स न्यून प्रभाव परेको राष्ट्र बैंकका प्रवक्ता एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘कोभिड–१९ का कारण चीनको अर्थतन्त्रमा धेरैले गिरावट आउने अनुमान थियो । तर चीनले नियन्त्रणमा लिइहाल्यो,’ उनले भने, ‘चीनको अर्थतन्त्रमा गिरावट नआएकाले विश्व बजारमा वस्तु तथा सेवाको माग घटेन ।’

भारतबाहेकका मुलुकमा वैदेशिक रोजगारीमा गएका धेरै मानिस नफर्किएकाले पनि रेमिट्यान्स धेरै नघटेको भट्टको भनाइ छ । ‘अमेरिकालगायत ठूला अर्थतन्त्र भएका मुलुकले कोभिड–१९ का कारण लामो समय लकडाउन गरेनन्,’ उनले भने, ‘यसकारण पनि विश्व अर्थतन्त्र अपेक्षित रूपमा खस्किन पाएन । त्यसको सकारात्मक प्रभाव रेमिट्यान्समा पर्‍यो ।’,याे खबर कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top