Nepal Times
Nepal Times
3
Shares

५० हजार भूकम्पपीडितको ५ अर्ब वितरण रोकियो

५० हजार भूकम्पपीडितको ५ अर्ब वितरण रोकियो

काठमाडौँ : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ स्थित भीमटारका राजेन्द्र दंगालको घर भूकम्पमा भत्कियो । सरकारले खटाएका प्राविधिक आएर परीक्षण गरिदेलान् भनेर निकै समय बाटो हेरे । नआएपछि आफैं घर ठड्याए । तत्काल बासको खाँचो टर्‍यो ।

‘घर भत्किएपछि बस्ने बास त चाहियो,’ उनले भने, ‘वडासँग समन्वय गरेर घर बनाएँ । ढिलो गरी प्राविधिक आएर हेरे, मापदण्ड पुगेन भने । प्राविधिकको सल्लाहअनुसार घरमा नपुगेका कुरा थपेर त्यसलाई भूकम्पप्रतिरोधी पनि बनाएँ ।’ प्राविधिकै सिफारिसमा उनले पहिलो किस्ता बुझे । तर उनले दोस्रो किस्ता अझै पाउन सकेका छैनन् । ‘घर बनाउनेलाई मात्र किस्ता पाउन गाह्रो भयो,’ उनले भने, ‘पाउनलाई पनि सोर्स लगाउनुपर्ने रहेछ ।’

यस्तो समस्या दंगालको मात्र होइन । करिब ५० हजार भूकम्पपीडितले घर बनाएर पनि रकम पाउन सकेका छैनन् । साउनदेखि निजी आवास निर्माणका लागि अनुदान वितरण भएको छैन । करिब ५ अर्ब रकम वितरण रोकिएको हो । भूकम्पपीडितले घर बनाइसके पनि अझै रकम बुझ्न पाएका छैनन् । साढे दुई महिनादेखि रकम नपाएपछि पीडित र जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा दैनिकजसो फोन गरेर गुनासो गरेको गर्‍यै छन् । प्रभावित ३२ वटै जिल्लामा यति बेला रकम वितरण हुन सकेको छैन । प्राधिकरणका अनुसार महालेखा नियन्त्रक कार्यालयले सिस्टम (प्रणाली) अपग्रेड गर्न खोज्दा यस्तो समस्या भएको हो । साउनबाट नयाँ सिस्टम लागू गर्ने भनिएको थियो ।

‘तर अहिलेसम्म सिस्टम चलेको छैन,’ प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने, ‘प्रत्येक व्यक्तिका नाम एकल खाता कोष प्रणालीमा रहेको हुन्छ, जुन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।’ महालेखासँग एकल खाता कोष प्रणाली सञ्चालन गर्नेबारे विभिन्न चरणमा छलफल भए पनि सञ्चालनमा आउन नसकेको उनले बताए । ‘जसले गर्दा पीडितलाई धेरै समस्या भएको हो,’ उनले भने ।, याे खबर कान्तिपुर दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.