बझाङ : ससुरा, श्रीमान् र नन्दे भाइबाट बलात्कार र बर्बर यातना पाएकी बझाङ सुनकुडाकी २१ वर्षीया युवतीलाई उनकै कान्छा ससुराले पनि लामो समय बलात्कार गरेर गर्भपतन गराएको खुलेको छ । लगातारको बलात्कारका कारण कान्छा ससुराको गर्भ रहेपछि जुसमा औषधि मिलाएर पिउन दिई गर्भपतनसमेत गराएको उनले बझाङका जनप्रतिनिधिसमक्ष बताएकी छन् ।
आइतबार बिहान उनलाई भेट्न जिल्ला अस्पताल बझाङ पुगेका प्रतिनिधिसभा सदस्य आशाकुमारी विक र तत्कालीन संविधानसभा सदस्य अफिलाल ओखेडासमक्ष आफ्नो पीडा पोख्दै घटनाबारे जानकारी गराएकी हुन् ।
२०७५ कात्तिक ७ गते फुपूसासू नाता पर्ने महिलाले आफू र श्रीमान्लाई बच्चा हुने उपचार गर्न भन्दै बित्थडचिर गाउँपालिकाको सुनकुडा गाउँ (पीडित युवतीको घर) बाट धनगढी लगेको युवतीले बताइन् । दुई सातासम्म त्यहाँ उपचार गरेपछि ‘बच्चा नहुनुमा कसको कमजोरी हो पत्ता लागेन, यहाँ जाँच गर्ने मेसिन बिग्रेको रहेछ, तिमीहरू दिल्ली जाऊ, दाइ उतै हुनुहुन्छ, उतै उपचार गर्नू’ भनेर श्रीमान् र आफूलाई दिल्ली पठाएको उनको भनाइ छ । कात्तिक २१ गते उनीहरूलाई लैजान दिल्लीबाट कान्छा ससुरा आएका थिए ।
धनगढीबाट हिँडेको भोलिपल्ट नै उनीहरू दिल्लीको आनन्द विहार नजिक कान्छा ससुराको कोठामा पुगे । त्यहाँ कान्छी सासू पनि सँगै बस्थिन् । केही दिनसम्म उपचारका लागि भनेर श्रीमान्लाई केही अस्पतालमा जाँच गरिए पनि आफूलाई कतै नलगेको युवतीले बताइन् । एक सातापछि भने कान्छा ससुराले युवतीका श्रीमान्लाई उनको कोठाभन्दा निकै टाढा काम खोजेर उतै बस्ने व्यवस्था गरिदिएका थिए । त्यसपछि कान्छा ससुरा/सासू र उनी मात्रै एउटै कोठामा बस्न थाले । ‘सुत्ने कोठा एउटै थियो, ससुरा र सासू खाटमा सुत्थे । ठीक तल भुइँमा मेरो बिस्तरा थियो,’ पीडित युवतीले भनिन्, ‘श्रीमान् बाहिर बस्न थालेको दोस्रो रात नै सुतेको बेला ससुराले मेरो इज्जत लुट्यो । तर सासूले थाहै नपाए जस्तो गरिन्,’ उनले भनिन् ।
बिहान सासूलाई घटनाबारे सुनाउॅदा ‘यस्तो भइहाल्छ, घरभित्रको कुरा बाहिर भन्नु हुँदैन’ भनेर सामान्य रूपमा लिएको उनले बताइन् । ससुराले भने, ‘यस्तो कुरा कसैलाई भने मारेर गायब गरिदिने’ धम्की दिए । ‘दिल्लीमा मेरो चल्छ । यस्तो कुरा कसैलाई भनिस् भने मारेर नालीमा फाल्दिन्छु । तेरो पोइलाई पनि नभन्नु भनेर धम्काए,’ पीडित युवतीले भनिन् । त्यसपछि उनीमाथिको बलात्कार शृंखला लगातार तीन महिनासम्म चल्यो । उनका अनुसार सासू बिउँझै भएको बेला पनि ससुराले इज्जत लुट्थे । सासू कहिले थाहा नपाए जस्तो गर्थिन्, कहिले हेरेर हाँस्थिन् ।
तीन महिनासम्म महिनावारी नभएपछि उनलाई ससुराले एक दिन कालो जुस खान दिएका थिए । त्यही जुस खाइसकेपछि आफ्नो गर्भपतन भएको थाहा पाएको युवतीले सुनाइन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।