१९ असाेज, बुटवल ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । संसदीय मर्यादा कायम नभएको भन्दै कांग्रेसले नाराबाजी गरेको हो ।
राजधानी दाङ लैजानुको औचित्य पुष्टि गर्न आग्रह सरकारलाई आग्रह गरेको छ । प्रदेशसभामा राजधानी र नामांकरणसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै कांग्रेसले तानाशाही शैलीमा यो प्रस्ताव आएको भन्दै आपत्ती जनाएको हो ।
बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले व्यक्तिगत स्वार्थमा राजधानी सार्नु गलत रहेको बताए । उनले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए । ‘मुख्यमन्त्री भनेको प्रदेशभरको हो, उहाँ शालिन नेता हो । तर भेगीय राजनीतिमा लाग्नुभयो । राजधानीको प्रस्ताव ल्याउँदा सहमति हुनुपथ्र्यो । खुसीको दिन हो, हर्ष हुनुपर्ने हो । तर बाहिर निषेधाज्ञा छ । मान्छे पक्राउ गरिएको छ । यो तानाशाही शैली भयो, ‘उनले भने ।
केपी ओलीको बुई चढेर राजधानीको प्रस्ताव ल्याउन गलत भएको भन्दै जनताले खुसी मनाउने गरी अघि बढ्नुपर्ने उनले बताए । राजनीति स्वार्थका लागि राजधानी सारिएको तर्क कांग्रेसको छ ।
लगतै सांसदहरुले रोष्टम घेराउ गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् । संसद अवरुद्धपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियाे।