१९ असोज, काठमाडौं ।
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन् । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ।
पाँचमध्ये चार जना जीवित रहेको र एक जना भने जन्मनुअघि नै मृत्यु भइसकेको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिए ।
सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बिहान मृतसहित पाँच शिशुको जन्म भएको हो । शिशुहरु १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्रामको रहेको अस्पतालले जनाएको छ। अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको जनाइएकाे छ।
जीवित जन्मिएका चार शिशुलाई हाल निगरानीका लागि एनआइसियूमा राखिएको डा सुवेदीले जानकारी दिए। एकै पटक पाँच जना शिशुलाई जन्म दिएको पहिलो पटक हुन सक्ने उनले बताए।
ती महिलाको तीन हप्ता अघि भिडियो एक्सरे गर्दा एक शिशुको गर्भमै मृत्यु भएको थियो।