२६ असाेज, हुम्ला ।
नेपाली कांग्रेसले चीनले हुम्लासँग जोडिएको नेपाली भूमि मिचेको आरोप लगाएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही नेतृत्वको टाेलीले विवादित क्षेत्रको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै चीनले नेपाली भूमि मिचेकाे जनाएकाे हाे।
नेपाल र चीन सीमाको स्थलगत अध्ययन गर्न शाही नेतृत्वको टोली नाम्खा गाउँपालिका–६ स्थित लिमी र लाप्चा पुगेको थियो ।
शाही नेतृत्वको टोलीले चीनले नेपाली भूमि मिचेको र सीमास्तम्भ पनि चुस्त दुरुस्त अवस्था नरहेको निश्कर्ष निकालेको छ । लोलुगङजोग र लिमि–लाप्चाको सिमानामा चीन सरकारले ६ महिनाअघि नै १२ नम्बरको नयाँ पिलर निर्माण गरेको टोलीले निष्कर्ष निकालेको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै शाहीले भने, ‘सीमास्तम्भमा कोरिएका देवनागरी लिपीका अक्षर फरकफरक छन्, स्तम्भ पुरानै आकारमा पनि भेटिएनन् ।’ पुराना स्तम्भका टुक्राहरु नयाँ स्तम्भ नजिकै भेटिएको उनको भनाइ छ ।
शाहीले नाम्खा गाउँपालिका–६ स्थित लिमी–लाप्चामा चीनले भवन निर्माण गरेको दाबी गरे ।