१९ कात्तिक, कावासोती ।
नवलपरासी पूर्व (नवलपुरको) बुलिङ्गटार गाउपालिका अन्तरगत पर्ने कालिगण्डकी करिडोरमा काम गर्नेक्रममा माथिबाट खसेको ढिस्को सहितको पहिरोले पाँच जना मजदुर पुरिएर वेपत्ता भएका छन्। सात जना मजदुर पुरिएकोमा दुई जनाको भने सकूशल उद्धार गरिएको छ ।
बुधबार अपरान्ह करीब साढे चार बजेतिरको समयमा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी प्रमुख प्रकाश मल्लले दिए ।
करिडोरको बुलिङ्गटार गाउँपालिका वडानम्बर ३ को खसुवा भन्ने ठाउँमा उनीहरु पुरिएको र अहिले ईलाका प्रहरी कार्यालय बुलिङ्गटारबाट खटिएको प्रहरी टोलीले ढिस्को पन्छाएर खोज्ने काम गरिरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिए।
पहिरोमा पुरिनेहरुमा बुलिङ्टार गाउँपालिका वडानम्वर ४ ढुँग्रेका रहेको भन्ने बुझिएको र थप विवरण आउन बाँकी रहेको मल्लले बताएका छन्।
उद्धार गरिएका दुई जनालाई घाइते भएकाले उनीहरुको उपचारका लागि भरतपुर अस्पताल पठाइएको मल्लले जानकारी दिए ।
