सस्तियो भाइमसला, कारोबार छैन

१९ कात्तिक ७७, बिहीबार

काठमाडौँ : तिहार आउन लाग्यो तर आममानिसमा उज्यालो पर्वको उत्साह छैन । सामानको भाउ सस्तिएको छ तर माग छैन । कोभिड–१९ का कारण स्वास्थ्यको जोखिम र आर्थिक गतिविधि ठप्प हुँदा त्यसको असर तिहारमा पर्ने देखिएको छ ।
सामान्य अवस्थामा तिहारको किनमलले बजारमा भीडभाड बढ्ने बेला भयो तर यस वर्ष भने किनमेलमा नै सर्वसाधारणको रुचि छैन । कास्की घर भई कीर्तिपुरमा सानो होटल चलाएर बस्नुभएकी सावित्री भण्डारी कमाइ नहुँदा घरभाडा तिर्न नै ऋण परेकाले किनमेल गर्ने कुनै योजना नभएको बताउनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई खाना खुवाउने होटल सञ्चालन गरेकी भण्डारीको होटल गत चैतदेखि बन्द छ । अहिले खुला भए पनि कोही पनि आउँदैन बन्दजस्तै हो, उहाँले भन्नुभयो । अघिल्लो तिहारमा पाँच दाजुका लागि भाइमसला र सानो उपहार गरी २५ हजार रुपियाँभन्दा बढीको किनमेल गर्नुभएकी कीर्तिपुरकै मीना दाहालले यसपटक भने किनमेल नगर्ने बताउनुभयो ।

पाँच दाजुकी एक्ली बहिनी उहाँले अघिल्ला वर्षहरूमा तिहार आउनुभन्दा १५ दिन अगाडि किनमेल गर्नुहुन्थ्यो तर अहिले भने कोरोना सङ्क्रमण हुने डरले यसपटक टीका नै नलगाउने भनेर किनमेल गर्नुभएको छैन । माथिका दुईवटा प्रतिनिधिमूलक भनाइले तिहार बजारमा पनि दशैँजस्तै मन्द हुने देखाउँछ ।

Advertisement

व्यापारीको समस्या बेग्लै
कुलेश्वरमा १० वर्षदेखि भाइमसलादेखि अन्य मसलाको व्यापार गर्दै आउनुभएका रवि शाह यस्तो शून्य तिहार कहिल्यै नभएको बताउनुभयो । उहाँका अनुसार तिहारका सामग्रीको भाउ घटेको छ तर व्यापार छैन । गत वर्षभन्दा यो वर्ष केजीमै दुई सय रुपियाँसम्म घटेको भाइमसलाको व्यापार नै छैन, शाहले भन्नुभयो, “किन्न आउनेले पनि एक केजी किन्नेले एक पाउ, आधा पाउ मात्रै किनेका छन्, बजारमा माग नै छैन ।”

Advertisement

मखन गल्लीमा व्यापारी साथीसँग बुझ्दा पनि कारोबार नै नभएको पाएको उहाँले बताउनुभयो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भाइमसलाजन्य हरेक वस्तुको मूल्य गत वर्षभन्दा यो वर्ष घटेको देखिन्छ । सङ्घले तिहारमा प्रयोग हुने वा बढी कारोबार हुने मसलाको मूल्य गत वर्षभन्दा यो वर्ष प्रतिकेजी कम्तीमा २० देखि पाँच सय रुपियाँसम्म सस्तो भएको जनाएको छ ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले यसपटकको तिहारमा तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको भाउ र माग दुवै घटेकोे जानकारी दिनुभयो । उहाँका अनुसार माग लगभग आधाले घटेको छ ।

अनियमितताको सम्भावना
उपभोक्ता अधिकारकर्मी तिहारका बेलामा व्यापारीले म्याद नाघेका सामान बिक्री गर्ने सम्भावना हुने भएकाले सरकारको बजारमा बलियो उपस्थिति हुनुपर्ने बताउँछन् । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले म्याद नाघेका सामानको बिक्री वितरण व्यापक बढेको आरोप लगाउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top