पञ्जाबमाथि मुम्बईको ३ रनको रोमाञ्चक जित

पञ्जाबमाथि मुम्बईको ३ रनको रोमाञ्चक जित

मुम्बई इन्डियन्सले किङ्स ११ पञ्जाबमाथि ३ रनको रोमाञ्चक जित दर्ता गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार रातिको जितपछि डिफेन्डिङ च्याम्पियन मुम्बई १२ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिदै प्ले अफ सम्भावना बलियो बनाएको हो।

१ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन मात्र जोड्न सक्यो।

उसका लागि ओपनर लोकेश राहुलले सर्वाधिक ९४ रन र आरोन फिन्चले ४६ रन बनाए पनि पञ्जाब लक्ष्यमा पुग्न सकेन। ६० बल खेलेका लोकेशले १० चौका र ३ छक्का प्रहार गरेका थिए।

क्रिस गेलले १८ तथा अक्षर पटेलले अविजित १० रन जोडे पनि त्यो जितका लागि पर्याप्त रहेन।

मुम्बईलाई जिताउन जसप्रित बुम्राहाले ४ ओभर बलिङ गर्दै १५ रन खर्चिएर ३ विकेट लिएका थिए। यस्तै मिचेल म्याक्लिघनले २ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो।

उसका लागि किरोन पोलार्डले अर्धशतक बनाएका थिए। २३ बल खेलेका पोलार्डले ५ चौका र ३ छक्काको मद्दतमा ५० रन जोडे। कुर्नाल पाण्डेले ३२, ओपनर सूर्यकुमार यादवले २७ र इशान किशनले २० रन बटुले। मिलेल म्याक्लिघनले अविजित ११ रन बनाउँदै सम्मानजनक स्कोर बनाए।

पञ्जाका एन्ड्रीयू टेले सर्वाधिक ४ विकेट लिएका थिए। उनले ४ ओभरमा मात्र १६ रन खर्चिएका थिए। यस्तै रविचन्द्रन आश्विनले २ तथा अंकित राजपुत, मार्कुस स्टोनिसले समान १-१ विकेट लिएका थिए।

यो जितसँगै मुम्बईको प्लेअफ सम्भावना कायमै रहेछ। पराजित पञ्जावको समान १२ अंक भए पनि रन रेटका आधारमा पछि परेको छ। समान खेलबाट १२ अंक नै बनाएको राजस्थान रोयल्स पाँचौ स्थानमा छ।

आइपिएलमा बिहीबार रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.