एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तो सुरक्षा मुख्यालय बनाउने योजना छैनः अमेरिका

१६ मंसिर ७७, मंगलबार

१६ मंसिर, सियोल ।

Advertisement

संयुक्तराज्य अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तै क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने योजना नरहेको अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

पूर्वी एसिया र प्रशान्त मामिला सम्बन्धी कोरिया र जापानका लागि अमेरिकी उप सहायक विदेश मन्त्री मार्क न्यापरले योनहापलाई दिएको अन्तर्वार्तामा उक्त कुरा बताएका हुन् । अमेरिकी अग्रसरतामा रहेको अस्ट्रेलिया, भारत र जापान सम्मिलित क्वेडका सन्दर्भमा न्यापरले भने, “अहिल्यै सैन्य मुख्यालय निर्माण गर्ने अमेरिकी योजना छैन ।”

Advertisement

उनले भने, “अहिल्यै नेटोकै स्वरुपमा क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने अमेरिकी योजना छैन, तर एकै किसिमका दृष्टिकोण भएका मुलुकहरुबीच साझेदारी गर्ने कुरालाई अमेरिकाले स्वागत गर्नेछ ।”

पछिल्ला दिनमा क्वेडलाई बहुपक्षीय सुरक्षा गठबन्धनका रुपमा विकास गर्ने योजना अघि सारिएको भन्दै चौतर्फी चासो व्यक्त भएको छ जसमा दक्षिण कोरिया समेतलाई समावेश गर्ने योजना अघि बढेको छ । यस समूहले खासगरी चिनियाँ प्रभावलाई नियन्त्रण गर्ने लक्ष राखेको छ ।

Advertisement

अमेरिकी प्रशासनले यस समूहलाई अझ विस्तार गर्न लागेको भन्ने धारणालाई अस्वीकार गरेको छ तर क्वेडलाई अझ बढी संगठित संरचनामा रुपान्तरित गर्ने सोच अमेरिकाले अघि सारेको छ ।

दक्षिण कोरियासँगको सम्बन्धका बारेमा सोधिएको प्रश्नमा न्यापरले कोरोनाभाइरसका कारण अबरुद्ध भएको आपसी भ्रमण कार्यक्रम चाँडै शुरु हुने विश्वास व्यक्त गरे। उनले दुबै मुलुकबीच जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका तयार रहेको बताए ।

उत्तर कोरियाली आणविक अप्रसारका बारेमा सोधिएको एक प्रश्नमा न्यापरले उत्तर कोरियासँग वार्ता गर्न अमेरिका खुला रहेको बताए। उनले उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रम त्याग्नु पर्ने बताए।

उत्तर कोरिया मामिलामा दक्षिण कोरियाली राष्ट्रपतिसँग अमेरिकाले निरन्तर छलफल र विचार विमर्श गरिरहेको पनि उनले बताए। रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top