गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न पर्यटनमन्त्रीको निर्देशन

२० मंसिर ७७, आइतबार

२१ मंसिर, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन् ।

Advertisement

शनिबार विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भने, “तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ ।”

उनले निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि विश्वास व्यक्त गरे । उनले भने, “विगतमा ‘ब्याक’ भएको आयोजना सम्पन्न हुँदैछ ।”

Advertisement

उनले कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको पनि बताए । मन्त्री भट्टराईले भने, “सकेसम्म उनीहरु आउँछन् ।

यदि कोरोनाकै कारण आउनुभएन भने नेपाली जनशक्तिले नै काम गर्नुहुन्छ ।” आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत सकिसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताए ।

Advertisement

उनले लकडाउनको समयमा पनि सिभिल काम निरन्तर भइरहेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव कोइरालाले समयमै काम सक्नुपर्ने बताए । उनले भने, “तोकिएकै समयमा काम सम्पन्न गर्नुपर्छ ।” (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top