हिउँदे अधिवेशनलाई ५० वटा विधेयक

हिउँदे अधिवेशनलाई ५० वटा विधेयक

काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) कहरले सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य हुँदा हिउँदे अधिवेशनमा विधेयकको चाप परेको छ । सङ्घीय संसद्का दुवै सदनमा गरी ५० विधेयक विभिन्न चरणमा विचाराधीन छन् ।

कोरोनाका कारण अधिवेशन अन्त्य भएको करिब छ महिना हुन लागेको छ । अधिवेशन नहुँदा विधेयक पारित प्रक्रिया रोकिएको छ । समिति बैठकसमेत प्रभावित हुँदा दफाबार छलफल सुस्त भएको छ । निकै महìवपूर्ण र आधारभूत विधेयकसमेत अलपत्र परेका छन् ।

संसद्को दोस्रो अधिवेशनमा ल्याइएका बीमा विधेयक र नागरिकता विधेयक पनि अहिलेसम्म नै विचाराधीन छन् । सरकारले अधिवेशन पुस दोस्रो सातासम्म बस्ने गरी सिफारिसको गृहकार्य गरेको छ । संसद् सचिवालयले कोभिडका कारण आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै अधिवेशन सञ्चालनको तयारी गरिसकेको छ । अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान हुने संवैधानिक व्यवस्था छ ।

“हामीले हाम्रो तर्फको तयारी गरिसकेका छौँ । कतिपय अन्तिम चरणमा छन् । संवैधानिक व्यवस्था अनुसार पुस १७ सम्म अधिवेशनको बैठक बस्नुपर्छ । हामी तयारी अवस्थामा छौँ । विचाराधीन रहेका धेरै विधेयक आउँदो अधिवेशनमा अगाडि बढाउनुपर्ने अवस्था पनि छ,” सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले भने ।

दुवै सदनमा गरेर अहिले ५० विधेयक विचाराधीन छन् । तीमध्ये राष्ट्रिय सभामा १४ विधेयक छन् । अन्य विधेयक प्रतिनिधि सभामा छन् । अभिलेख अनुसार प्रतिनिधि सभामा शान्ति सुरक्षा विधेयक, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक, मानव अधिकार आयोग (पहिलो संशोधन) विधेयक, भन्सार विधेयक, कर्जा सूचना विधेयक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) विधेयक दर्ता भई वितरण मात्र गरिएको अवस्थामा छन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.